अस्ट्रेलिया पुगिन् समीक्षा अधिकारी, ‘ब्ल्याकलिस्ट’ फुकुवा भएको हो ?

सांगितिक कार्यक्रमको लागि गायिका समीक्षा अधिकारी यतिवेला अष्ट्रेलियामा छिन् । गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको निम्तो मान्न पुगेकी गायिका अधिकारी विभिन्न कार्यक्रममा व्यस्त छिन् । उनी डार्विनमा आयोजित नेपाल फेस्टिभलमा सहभागी भइसकेकी छिन् । त्यहाँ उनले आफ्ना गीत प्रस्तुत गरेकी थिइन् ।

समीक्षाको अष्ट्रेलिया बसाई अझै लम्बिने बताइएको छ । पछिल्लो समय समीक्षाको देश तथा विदेशमा सांगितिक कार्यक्रमको डिमाण्ड बढिरहेको छ । उनी यसअघि जापानको कार्यक्रममा सरिक भएकी थिइन् ।

पछिल्लो समय उनले गाएको ‘बोक्सीको घर’ को शीर्ष गीत ‘बुझिनँ मैले’ बोलको गीत सर्वाधिक रुचाइएको छ । यो गीत करोड क्लबमा पुगिसकेको छ । अष्ट्रेलिया बसाइको क्रममा उनले घुमघामलाई पनि प्राथमिकतामा दिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै उनी लेख्छिन्, ‘शो ह्यापी टु वी इन सिड्नी फाइनल्ली ।’

अघिल्लो वर्ष समीक्षालाई अस्ट्रेलियाले भिसा नदिएर ‘ब्ल्याकलिस्ट’मा राखेको समाचारहरू आएका थिए । उनी पूर्वनिर्धारित कार्यक्रममा पनि गएकी थिइनन् ।

समीक्षालाई १८ वर्ष उमेर नपुगेका कारण दिदीलाई केयर टेकरका रूपमा लगेर अस्ट्रेलियामा छोडेको आरोप लागेको थियो । समीक्षा नेपाल फर्किए पनि दिदी चाहिं अष्ट्रेलियामै बसिन् । तर उनले भने यसलाई अस्वीकार गर्दै आएकी थिइन् ।

अष्ट्रेलियामा जान लाग्ने क्रममा अर्को एक केयर-टेकरको लागि भिसा अप्लाई गरेकी थिइन् । यो बेलामा पनि समीक्षाको उमेर १८ वर्ष पुगेको थिएन । यो बेलामा केयर-टेकरको भिसा लागेन । साथै, समीक्षाको भएको एक वर्षको भिसा पनि रद्द भएको थियो भने ‘ब्ल्याकलिस्ट’ समेत परेकी थिइन्।


ताजा खबर