दबाब परेकी आँचल

नायिका आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड बधु’ रिलिजमा आउने तयारीमा छ । योसँग उनी अन्य तीन वटा फिल्मको छायांकनमा व्यस्त हुँदै छिन् । जसका कारण आँचलका लागि भदौ महिना निकै सकसपूर्ण हुने देखिएको छ।

आँचलको हातमा फिल्म ‘जेरी: अन टप’, ‘पीताम्बर’ र ‘दुःखी आत्मा’ रहेका छन् । यी फिल्मको छायांकनका लागि उनले भदौमै समय जुटाउनु पर्ने भएको भने भदौ १४ गतेबाट रिलिज हुने फिल्म ‘वर एण्ड बधु’को प्रमोशनलाई समय मिलाउन पर्ने प्रेसर पनि रहेको छ।

भदौ ३ गतेबाट फिल्म ‘जेरी अन टप’ सुटिङमा जाने तयारीमा रहेको छ। सुयोग गुरुङको निर्देशनमा तयार हुने फिल्ममा आँचलको साथमा अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको छ। यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्नेछन्।

निर्देशक कृषा चौलागाई निर्देशन गर्न लागेको फिल्म ‘पीताम्बर’ भदौ १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको छ। यो फिल्मलाई पनि उनले समय दिनु पर्ने भएको छ । यता, भदौको तेस्रो हप्ताबाट उनले अभिनय गर्ने अर्को फिल्म ‘दुःखी आत्मा’ फ्लोरमा जाने तयारीमा रहेको छ।

आँचल यतिबेला श्रीमान् उदिप श्रेष्ठको साथमा अमेरिकामा ‘मिस नेपाल नर्थ अमेरिका’ को फिनालेमा सहभागी हुन पुगेकी छिन्। उनी माथि तीन फिल्मको दबाब रहेसँगै सेड्यूल मिलाउनुपर्ने हुन्छ । अब नेपाल आएर आफ्नो सेड्युल कसरी मिलाउँछिन्, त्यो भने हेर्न बाँकी रहेको छ।


ताजा खबर