फागुनको २० गते पर्वतमा आयोजित एक महोत्सवमा गीत गाउने क्रममा गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच भनाभन भयो । उक्त घटना भएको केही दिनपछि साउण्ड सिस्टम व्यवसायीहरूले विज्ञप्ति जारी गर्दै एलिनाले माफी नमागे उनी सहभागी हुने कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिए ।
त्यसपछि एलिनाले सामाजिक संजालबाट माफी माग्दै आत्मालोचना गरिन्। लगत्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने साउन्ड सिस्टम व्यवसायीहरूको विज्ञप्ति प्रति गम्भीर आपत्ति जनाउदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कलाकार र साउन्ड इन्जिनियर, टेक्निसियन बिचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने गरि यति संवेदनशील विषयमा एकपक्षीय रूपमा विज्ञप्ति जारी गरि गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने भन्ने जस्ता गैरजिम्मेवार र बहिस्कारको सोचबाट उद्धत अभिव्यक्ति प्रति हाम्रो घोर आपत्ति छ । यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सृजना गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ ।’