पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सोमबार सम्पन्न भएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको छ । ‘चिसो मान्छे’ ले चलचित्रतर्फ उत्कृष्ट अवार्ड थाप्दा ‘घुर्रा’ ले लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड प्राप्त गरेको हो।
कार्यक्रममा अभिनेत्रीतर्फ स्वस्तिमा खड्का उत्कृष्ट बनिन् । ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको पुरस्कार जिते । सोही चलचित्रबाट निर्देशक प्रदीप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे ।
त्यस्तै ‘छक्का पन्जा ४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौला ‘जुरी मेन्सन अवार्ड’ पाए । कार्यक्रममा वृत्तचित्र ‘थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ ले समेत अवार्ड प्राप्त गर्यो ।
स्पेसल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ ले प्राप्त गरेको कार्यक्रममा लघु चलचित्र ‘साउन्ड अफ ड्रिमिङ’ बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाकारको अवार्ड पाए । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, कलाकार मिथिला शर्मा, भुवन चन्द लगायतको उपस्थिति रहेको कार्यक्रममा उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तर्राष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो ।
भारतको ‘मुझे स्कुल नही जाना’, बेलायतको ‘नो फ्रिडम नो आर्ट’, बङ्गलादेशको ‘डियर सत्यजित’, पाकिस्तानको ‘ईन्टरभल’, बहराइनको ‘शैख अल तानवीर’, भारतको ‘शट बुट थ्री’, साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ ले समेत कार्यक्रममा अवार्ड प्राप्त गरेको थियो ।
महोत्सवको राष्ट्रिय निर्णायकमा कलाकार आँचल शर्मा, मोहन निरौला, सुष्मा कार्की, मोहन राई र पत्रकार शान्ति प्रिय, जय निशान्त र सुवास प्रधान थिए । त्यस्तै अन्तर्राष्ट्रिय निर्णायकमा पोल्यान्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर थिए ।
तीन दिन चलेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत आयोजना भएको थियो । महोत्सव निर्देशक सन्तोष सुवेदीले सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र र त्यसका श्रष्ठालाई सहभागिताका लागि धन्यवाद दिँदै मायाको चिनो समेत प्रदान गरेका थिए ।