म्याग्दीमा पुराना संस्कृतिको पुस्तान्तरण गर्ने उद्देश्यले युवाहरूलाई सङ्गीत प्रशिक्षण आयोजना गरिएको छ ।
श्रीकृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रले ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव पुस्तान्तरणका लागि १० दिने सङ्गीत प्रशिक्षण आयोजना गरिएको हो । प्रशिक्षणका लागि सामाजिक विकास कार्यालय र बेनी नगरपालिकाले सहयोग गरेका थिए ।
सेवा केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले नेपाली मौलिक बाध्यबाधन बजाउने सीप हराएर जाने अवस्थामा पुगेपछि नयाँ पुस्तामा सीप हस्तान्तरणका लागि सङ्गीत प्रशिक्षण दिइएको बताए । वैशाख २१ देखि ३० गतेसम्म सञ्चालन भएको सङ्गीत प्रशिक्षणमा २० युवायुवती र १२ जना प्रौढहरूको सहभागिता थियो ।
तालिममा सारङ्गी, मादल, हार्मोनियम, तबेलालगायत बाध्यबाधनका सामाग्री बजाउन व्यावहारिक अभ्याससहितको प्रशिक्षण दिइएको केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिए । तालिम अवधिभर शक्ति छिनालले सारङ्गी, चन्द्रप्रसाद श्रेष्ठले तबला, प्रकाशकुमार श्रेष्ठले हार्मोनियम तथा बलराम शर्मा र पूर्णबहादुर जिसीले मादल बजाउन प्रशिक्षण दिएका थिए ।
आइतबार सहभागीले सिकेका सीपको समूहगत प्रस्तुतिसँगै प्रशिक्षणको समापन गरिएको छ । त्यसअवसरमा तालिममा सहभागी विभिन्न चार समूहले बाध्यबाधनसहित भजनकीर्तन प्रस्तुत गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले परम्परागत लोकसङ्गीत र संस्कृतिको जगेर्ना गर्न ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताए । ‘‘अहिलेका पुस्ता प्रविधिसँग जोडिएका छन्, उनीहरुलाई आफ्नो मौलिककला, संस्कृतिबारे जानकारी नै नहुने समस्या बढी छ । त्यसैले मौलिक संस्कृतिबारे जानकारी र कलासम्बन्धी क्षमता विकास गराउन सकियो भने नेपालीपनलाई जोगाइ राख्न यस्ता कार्यक्रमको आवश्यकता छ’’,उनले भने ।
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले ज्येष्ठ नागरिकमा रहेका गीत, सङ्गीत, सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै मौलिक सङ्गीत र संस्कृतिको संरक्षणमा कार्यक्रमले रचनात्मक भूमिका खेल्ने बताए । उनले पछिल्लो सयम नेपाली मौलिकता, कला, संस्कृति र परम्परा हराएर जाने चिन्ता व्यक्त भइरहेकाले कार्यालयले विभिन्न क्षेत्र, समुदाय र जातजातिका कला, संस्कृति, भेषभूषा र परम्पराको जगेर्नामा जोड दिएको बताए ।