पछिल्लो समयमा विभिन्न सिरियलहरूबाट चर्चित हास्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले आफ्नो पछिल्लो सिरियल ‘राधा कृष्ण’को प्रसारण समय र युट्युब च्यानल हेरफेर गरेका छन्। उनले आन्तरिक कारण जनाउँदै यसअघि शुक्रवार साँझ प्रसारण हुँदै आएको यो सिरियल अब बिहीबार नै प्रसारण हुने र आफ्नै च्यानल ‘बल्छी धुर्बे’बाट सार्वजनिक गर्ने निर्णय भएको बताएका छन्।
पूर्व प्रधानमन्त्री द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईको उपस्थितिमा केही समय अघि प्रिमियर भएको यो सिरियलका छ वटा भाग प्रसारण भइसकेका छन्। ‘राधा कृष्ण’ माओवादी सशस्त्र सङ्घर्षको समयमा भएका विभिन्न घटनामा आधारित कथामा बनेको छ।
भदौ २८ बाट प्रसारण सुरु भएको यसमा यस बल्छीसहित पूजन घिमिरे, उत्तम केसी, विशाल पहारी, रोशनी सापकोटा, सिरु बिस्टलगायतको अभिनय रहेको छ।