कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’ को नयाँ भिडियो सार्वजनिक

काठमाडौं । नेपाली सङ्गीत इतिहासमा विशेष स्थान राख्ने कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’ को नयाँ भिडियो सार्वजनिक गरिएको छ । यो गीत उस्ताद गुलाम अलिको सुमधुर आवाजमा सजिएको छ भने शब्द रचना स्वर्गीय राजा महेन्द्र वीर विक्रम शाह (म.वि.वि. शाह) ले गरेका हुन् । दीपक जङ्गमको सङ्गीत संयोजनमा बनेको यस गीतलाई पहिलो पटक २०४२ साल (सन् १९८५) मा रेकर्ड गरिएको थियो ।

नेपाल भ्रमणका क्रममा उस्ताद गुलाम अलिले चार वटा नेपाली गीत रेकर्ड गरेका थिए, जसमा ‘गाजलु ती ठुला ठुला आँखा’ पनि समावेश थियो । तीन दिनको अवधिमा रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको यस गीतले नेपाली सङ्गीतप्रेमीहरूका मन जित्दै आजसम्म पनि लोकप्रियता कायम राख्न सफल भएको छ ।

हालै, म्युजिक नेपालले क्रिएटिभ आवर प्रोडक्सन र ड्याड प्रोडक्सनको सहकार्यमा यस गीतको नयाँ भिडियो निर्माण गरी सार्वजनिक गरेको छ । यस भिडियोमा शङ्कर श्रेष्ठ र अञ्जना बराइलीले अभिनय गरेका छन् । भिडियोको अवधारणा तथा निर्देशन सुब्रत आचार्यले गरेका हुन् भने छायाङ्कन उत्सव दाहालले गरेका छन् । भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

हेयर र मेकअपको जिम्मेवारी सुप्रिया आर.एल. शाहले सम्हालेकी छन् भने स्टाइलिङ आशिम रानाभाटले गरेका छन् । प्रोडक्सन डिजाइनरको रूपमा दिपेन्द्र गौतम ‘माइकल’ले काम गरेका छन् भने सहायक निर्देशक साईब्रत आचार्यले भिडियोको समन्वयमा भूमिका निर्वाह गरेका छन् । क्रिएटिभ निर्देशन जया शर्माले गरेकी छन् ।

‘गाजलु ती ठुला ठुला आँखा’ गीतले नेपाली सङ्गीतप्रेमीहरूको मनमा विशेष स्थान बनाएको छ । यस गीतको लोकप्रियता नेपालमा मात्र सीमित नभई छिमेकी मुलुकहरूमा पनि फैलिएको छ । विशेष गरी पाकिस्तानी गायिका सारा राजा खानले पनि यो गीत गाएर सामाजिक सञ्जालमा चर्चा पाउन सफल भएकी थिइन् ।

नयाँ भिडियो सार्वजनिक भएसँगै गीतको पुरानो स्वादलाई नयाँ शैलीमा प्रस्तुत गरिएको छ, जसले नयाँ पुस्तालाई समेत आकर्षित गर्ने विश्वास गरिएको छ ।


ताजा खबर