काठमाडौं । गीतकार तथा संगीतकार नरहरि प्रेमीले आफ्नो नयाँ गीत ‘पिलेन उडाउनी’ सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकालको अभिनय रहेको छ । उक्त अवसरमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथि तथा पूर्वमन्त्री एसपी कोइराला विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । प्रमुख अतिथि बास्कोटाले गीतको अडियो तथा भिडियो निकै उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।
विशिष्ट अतिथि एसपी कोइरालाले गीतले दिन खोजेको सन्देश प्रभावशाली रहेको र नेपाली गीतमा भोजपुरी संगीतको समिश्रण सुन्दर रूपमा प्रस्तुत गरिएको बताए । साथै, गीतकार तथा संगीतकार प्रेमीले लामो समयदेखि नेपाली गीतसंगीतको क्षेत्रमा फरक सिर्जनाबाट पहिचान बनाएको उल्लेख गरे ।
गीतमा पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी र गायक सुरज गुप्ताले स्वर दिएका छन् । विशेषगरी गायक सुरज गुप्ताको यो पहिलो गीत हो । उनले आफ्नो जन्मदिनको अवसर पारेर आफ्नो पहिलो गीत सार्वजनिक गरेका हुन् ।
गीतको भिडियो राज कुमारले निर्देशन तथा सम्पादन गरेका छन् भने छायांकन बुद्ध थापाले गरेका छन् । गीत नरहरि प्रेमीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । डिएन गुप्ता निर्माता रहेको यस गीतको सहनिर्माता निर्मला देवी गुप्ता र सन्ध्या गुप्ता हुन् ।