‘दर्पण छायाँ २’ मा देखिए पुष्प र सहाराको जोडी म्युजिक भिडियोमा

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी म्युजिक भिडियोमा देखिएको छ । चलचित्र ‘दर्पण छायाँ २’ मा देखिएको यो जोडी पुनः एक पटक म्युजिक भिडियोमा देखिएका हुन् ।

निर्देशक फिरोज तिमिल्सेनाले ‘सर्माइ भागेर’ बोलको म्युजिक भिडियोमा यी दुईलाई एकसाथ प्रस्तुत गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको गीतमा गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको छ । कुलेखानी र त्यस आसपासका रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोमा पुष्प खड्का, सहारा कार्की, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक तिमिल्सेनाले गीत सुनेपछि भिडियो बनाउने निर्णयमा पुगेको बताए । उनले विदेशमा रहे पनि नेपाली गीतसंगीतसँग टाढिन नसकेको भन्दै आफ्नो टीमसँग मिलेर गीत गाउने र अभ्यास गर्ने गरेको उल्लेख गरे। गायक भुवन श्रेष्ठले गीत सुनाएपछि नेपाल आएर भिडियो निर्माण गर्ने योजना बनेको उनले जानकारी दिए।

अभिनेता पुष्प खड्काले गीत नसुन्दै भिडियोमा काम गर्ने सहमति जनाएको बताए । ‘फिरोज र सहारासँगको मित्रता ‘दर्पण छायाँ २’ बाट सुरु भएको हो । अहिले पुनः एकसाथ काम गर्न पाउँदा पुराना दिनहरू सम्झना आए। गीत निकै मिठो छ, हामीले अडियोको भावलाई न्याय दिने प्रयास गरेका छौं’, उनले भने ।

आठ वर्षपछि पुनः गीतको भिडियोमा देखिन पाउँदा उत्साहित रहेको पुष्पले बताए । अभिनेत्री सहारा कार्कीले पहिलो सिनेमामा काम गर्दा भेटेको पुष्प खड्काको सरलता र मेहनतीपन अझै उस्तै रहेको भन्दै प्रशंसा गरिन् ।

‘पुष्पसँग काम गर्दा सहज महसुस हुन्छ । उनको मेहनतले मलाई पनि उर्जा दिन्छ,’ उनले भनिन्, ‘यो गीत मैले भुवनजी मार्फत सुनेकी थिएँ र मन परेको थियो । भिडियोमा काम गर्न पाउँदा खुशी लागेको छ ।’

म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रङ संयोजन रहेको छ ।

गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्देशक नवल नेपाल, गायक सनुप पौडेल, र्यापर हाकिम गुरुङ, प्रोजेक्ट हेड कुवेर डंगोल लगायतको उपस्थिति रहेको थियो ।


ताजा खबर