गायक प्रकाश सपुतको नयाँ गीत सकम्बरी विवादमा परेको छ।
गीतमा प्रयोग भएका शब्दहरू र देखाइएका दृश्यहरूलाई लिएर कतिपयले आपत्ति जनाइरहेका छन् । गीतमा महिलालाई गलत देखाउने प्रयास भएको भन्दै महिला अधिकारकर्मीहरूले आपत्ति जनाइरहेका छन् ।
गायक सपुतको स्वर, शब्द, संगीतमा तयार भएको यो गीत एक नारीले आफ्नो जीवन जिउनका लागि देह व्यापार गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको भिडियोलाई लिएर यतिबेला आलोचना भोगिरहेको हो ।
कतिपयले यो गीत र भिडियोको विषयमा विशेषगरि सामाजिक संजालमा मानिसहरु २ ध्रुवमा छुट्टिएका छन् । केहीले समर्थन गरेका छन् भने कतिपयले यसको विरोध गरिरहेका छन् ।
यसैबिच, रात्रीकालिन मनोरञ्जन व्यवसायी संघ नेपालले गायक सपुतलाई गीत युट्युबबाट हटाउन चेतावनी दिएको छ । यदि, गीत नहटाइएको खण्डमा आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ ।
संघले गायक सपुतलाई भिडियो सम्पूर्ण सामाजिक संजालबाट हटाउन चेतावनी दिदै नेपाली नारीहरुको अस्मिताको रक्षा गर्न आग्रह गरेको छ ।
साथै, संघले रात्रीकालिन मनोरञ्जन व्यवसायको नकारात्मक प्रचार नगर्न सपुतसँग आग्रह गरेको छ । भिडियो र गीतको केही शब्दमा आफूहरुको आपत्ती रहेको जनाउँदै संघले गीत युट्युबबाट नहटाइए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । साथै, संघले सपुतको गीतको घोरा भत्र्सना गरेको उल्लेख गरेको छ ।
संघका अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘गायक प्रकाश सपुतले विगत केही समयदेखि नेपाली छोरी नारीको अस्मितामाथि मजाक, व्यङ्ग्य प्रहार गर्दै भाइरल हुनकै लागि ’पीर’ र ’फूलमाया सकम्बरी’ जस्ता अपाच्य गीत बजारमा ल्याएका छन् र चर्चित हुन खोजेका छन् । नेपाली नारीहरूले आफ्नो दुःखको मोचन पौरख, संघर्ष र श्रमबाट होइन आफ्नो शरीर बेचेर गर्छन् । यौन बाहेक दुःखबाट मुक्ति पाउन उनीहरूसँग कुनै उपाय छैन भन्ने देखाएर कस्तो संस्कृति र भाष्य निर्माण गर्न खोजेका हुन् प्रश्न छ । २१औं शताब्दीको नेपाली छोरीहरू पसिना बगाएर, मिहिनेत गरेर आफ्नै खुट्टामा उभिन सक्ने भएका छन् । सरकारी, निजी क्षेत्रको उच्च नेतृत्व सम्हाल्ने, हवाइजहाज उडाउन सक्ने भएका छन् नेपाली छोरी । होला केही वाध्यता र परिस्थितिले यसमा फसेका पनि छन् । कलाकारिता क्षेत्रमा आउने सबै प्रतिभाहरू तपाईंको भनाइमा ’वेश्यावृत्ति’ गरेर नै यस क्षेत्रमा आएका हुन् र स्थापित भएका हुन् त रु तपाईजस्तो भुइमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरी-नारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त ? अनि महिलाले राम्रो अवसर पाउन-चर्चित हुन शरीर बेचेकै हुन्छन् रु वा बेच्नु नै पर्छ रु त्यो क्षेत्रमा कलाको कुनै मूल्य छैन ? मेहनत र संघर्षको बाटो छैन ? के रात्रीकालिन व्यवसायमा संलग्न सबै नारी-छोरीहरू देहव्यापार नै गर्न गएका हुन्छन् त ? यस्ता प्रश्नको उत्तर आउने रचना र शब्द लेखनमा तपाईंको दिमाग, हात र मुख चल्यो भने चाहिँ सकरात्मक सन्देश जान्थ्यो यसो गर्दा तपाईंको कमाई नहुने हो र ? तपाईको यो गीतले सबै महिलालाई आक्षेप लाग्ने काम भयो, यो निन्दनीय छ ।’