अन्तरजातीय प्रेम कथामा नयाँ चलचित्र निर्माणको घोषणा भएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रको नाम ‘श्रद्धा–सुमन’ राखिएको छ । यो चलचित्रको आजबाट बन्दिपुरमा वर्कशप समेत सुरु भएको छ ।
के.डी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो चलचित्रलाई अमर सिंह खातीले निर्माण गर्दैछन् । चलचित्रको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती छन् ।
यो चलचित्रमा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । चलचित्रमा दीपक अधिकारी र आकांक्षा तामाङ शिर्ष भूमिकामा देखिदैछन् । एक ब्रम्हाण यूवक र एक तामाङ यूवतीको प्रेम कथामा यो फिल्म बन्न लागेको निर्देशक प्रशितले जानकारी दिए ।
चलचित्रमा दीपक र आकांक्षाको साथमा कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको मुख्य भुमिका रहनेछ । यो चलचित्रमा चिरञ्जिवी भण्डारीको संगीत, उत्सव दाहालको छायांकन रहनेछ ।
चलचित्रको छायांकन भने भदौको १५ गतेबाट सुरु गर्ने निर्देशक प्रशितले जानकारी दिए । यो चलचित्रको छायांकन बन्दिपुर, चितवन, पोखरामा हुनेछ । साथै, नेपाल बाहिर पनि यो चलचित्रको छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ ।