आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ । बिहीबार रिलिज भएको गीत ‘मायालाई चिनो’मा फिल्मका मुख्य २ पात्र धिरज मगर र सुहाना थापाको लभ केमेस्ट्रीलाई प्रस्तुत गरिएको छ ।
फिल्मको सार्वजनिक गीतमा गुरुङ र मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथालाई भिडियोमा बुनिएको छ । गीतको अडियो र भिडियो पक्ष उत्कृष्ट छ । कविराज गहतराजको कोरियोग्राफी तथा सङ्कल्प भुजेलको डिओपी रहेको गीत कास्की जिल्लाका रमणीय स्थानमा खिचिएको हो । गीतको भिडियोमा धिरज र सुहानाको केमेस्ट्री पनि गजब देखिएको छ ।
शंकर अधिकारी घायलको शब्द रचना रहेको गीतमा बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर सुन्न सकिन्छ । अन्तरजातीय प्रेमकथामा आधारित रहेको फिल्ममा धिरज र सुहानाका अलावा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, सन्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।
सुनिल कुमार थापाको निर्माण रहेको फिल्मको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिच्छेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिकको संगीत रहेको छ ।
सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीन वटै सिरिज सफल छन् । यो उनीहरूको सहकार्यमा निर्माण भएको चौथो सिनेमा हो । फिल्मलाई काठमाडौँ उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौँ बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।