बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘डिग्री माइला: म थर्ड क्लास’को शुभ मुहूर्त गरिएको छ ।
रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने यो चलचित्रको कलाकार तथा प्राविधि टिमको साथमा हिजो (शनिबार) बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरियो ।
फिल्ममा नायक दयाहाङ राई शिर्ष भूमिकामा देखिदैछन् । फिल्ममा दयाको जोडीको रुपमा नायिका आँचल शर्माले काम गर्दैछिन् । दया र आँचलले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।
शुभ मुहूर्त समारोहमा निर्देशक गुरुङसहित फिल्मका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए ।
फिल्मको छायांकन आगामी शुक्रबार अर्थात् असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ । फिल्मको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ ।
आगामी वर्ष २०८१को नयाँ वर्षलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।