मौलिक कथामा अभिनय गर्ने रहर परदेशी २ ले पूरा गरिदियो: केकी

असोजको २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परदेशी २’को टिम देश दौडाहामा छ । फिल्म प्रचारका लागि मोसफल यात्रामा रहेको टिम नेपालगञ्ज पुगेको छ । फिल्मका निर्देशक नारायण रायमाझी, कलाकार प्रकाश सपुत, नायिका केकी अधिकारीको टिमले नेपालगञ्जका पत्रकारहरुसँग फिल्मको बारेमा कुरा गरेको छ ।

पत्रकारहरुसँगको कुराकानीमा कलाकार प्रकाश सपुतले भने–‘यो मेरो पहिलो फिल्म हो, यसैले निकै उत्साहित छु । फिल्ममा अभिनय गर्दा मेरो जुन उत्साह थियो त्यो अहिले पनि उस्तै छ । तर, पहिलो फिल्म भएकाले डर पनि लागेको छ ।’

नायिका केकी अधिकारीले यो फिल्मबाट आफूलाई मौलिक फिल्ममा काम गर्ने रहर पुरा भएको बताइन् । उनले भनिन्–‘फिल्मले हामी सबैको कथा समेटेको छ । प्रकाश सपुतजीसँग फिल्ममा काम गर्न पाउँदा खुशी लागेको छ ।’

निर्देशक नारायण रायमाझीले समाजकै घटनालाई फिल्मले उठान गरेको भन्दै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताए । फिल्मले संसार घुमेपनि आफ्नो देशलाई विर्सन हुँदैन भन्ने सन्देश दिएको रायमाझीको भनाई छ ।

फिल्मको टिमले नेपालगञ्जका केही कलेजमा पुगेर विद्यार्थीहरुसँग पनि साक्षात्कार गरेको छ । चितवनबाट सुरु भएको टुर बुटवल, पोखरा हुँदै काठमाडौं फर्किएर सकिनेछ ।

राजेश बंशल र निर्देशक रायमाझीको निर्माणमा तयार भएको यो फिल्ममा वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दिलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशिल पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ ।

मानकृष्ण महर्जनको छायांकन, बीबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राइको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन छ ।


ताजा खबर