दशैंको (फूलपाती) अवसर पारेर शनिबारदेखि रिलिजमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा बिष्फोटक सुरुवात गरेको छ ।
पहिलो दिन देशभर शतप्रतिशत अकुपेन्सी कायम गरेको ‘भष्मे डन’ले घरेलू बक्स अफिसमा झन्डै साढे २ करोड बराबर सुनामी ल्याएको छ ।
निर्माण कम्पनी टुकी आर्ट्सले सार्वजनिक गरेको एक पोस्टरमा पहिलो दिने कमाई २ करोड ४० लाख उल्लेख छ । यो नेपाली फिल्मका लागि बम्पर ओपनिङ हो । शनिबार देशभरका अधिकांश हल बिहानैदेखि हाउसफूल थिए । दोस्रो दिन आइतबार पनि फिल्मका शोज खचाखच छन् ।
फिल्मले दशैंको एक साता लामो बिदामा विष्फोटक व्यापारलाई कायम नै राख्ने देखिएको छ । साथै, फिल्मलाई सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले दशैंको ६ दिन लामो विदामा फिल्मले १० करोडमाथिको अंक जोड्न सक्नेछ । क्यूएफएक्स, आइएनआइ, बिग, वान सिनेमाजसहित मोफसलका आउटलेटमा पनि फिल्मको दर्शकीय फुटफल उच्च रहेको निर्माताले जनाएका छन् ।
फिल्म प्रदर्शनमा आएसँगै निर्देशक दीपेन्द्र के. खनाल, निर्माता तथा लेखक खगेन्द्र लामिछाने, कलाकारहरु विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरुसँग भेटिरहेका छन् ।
शनिबार हलमा पुगेका अधिकांश दर्शकले मिडियासँग प्रतिक्रिया दिदै एउटा उत्कृष्ट फिल्म हेर्न पाएको बताए । फिल्म हेरेका प्रायः दर्शकले निर्देशक र निर्मातासँग ‘पशुपति प्रसाद ३’को डिमाण्ड गरेका छन् ।
‘भष्मे डन’ पशुपति प्रसादको मुख्य मध्येको पात्र भष्मे डनमा आधारित छ । गुण्डा चरित्रको सकारात्मकतातर्फको रुपान्तरणको बटमलाइनमा बनेको फिल्ममा अभिनेता कार्की भष्मे डनको पात्रमा छन् । सौगात र स्वस्तिमा पशुपति प्रसाद श्रृंखलाका नयाँ कलाकार हुन् ।
फिल्ममा रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको पनि अभिनय छ । फिल्ममा खगेन्द्रका साथै अभिनेत्री वर्षा सिवाकोटीको पनि महत्त्वपूर्ण भूमिका छ ।
सबै हलमा राम्रो दर्शक पाएको र प्रतिक्रिया पनि राम्रो पाएको निर्देशक दीपेन्द्र के खनालले बताए ।
‘फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । मनमा फिल्म प्रति जुन डर थियो । त्यो अहिले हट्यो’, निर्माता खगेन्द्र लामिछानेले भने । दर्शकले फिल्मको सस्पेन्स पाटोलाई निकै मन पराएको आफूले अनुभव गरेको उनले सुनाए ।
अभिनेत्री स्वस्तिमा खड्काले आफूले अहिलेसम्म फिल्म हेर्न नपाएको र दर्शकबाट पाएको प्रतिक्रियाले हेर्न आतुर भएको बताइन् । अभिनेता विपिन कार्कीले ‘भष्मे डन’ भूमिकामा दर्शकले आफूलाई दुई पटक माया दिएको सुनाए ।