लोकप्रिय गीत ‘कालो चश्मा लाऊ है’को रिमेक भर्सन सार्वजनिक

पुराना निर्देशक दीपक श्रेष्ठले निर्देशन गरेको नयाँ फिल्म ‘पर्खी बसें तिमीलाई’मा समावेश लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरेर सार्वजनिक गरिएको छ ।

उक्त गीत सार्वजनिकसँगै फिल्म ‘पर्खी बसें तिमीलाई’ पौष २७ मा प्रदर्शन गरिने समेत जानकारी गराइएको छ ।

निर्देशक श्रेष्ठले भन्छन्, ‘यो विसुद्ध प्रेम कथानक फिल्म रहेको छ । यसको सुरुआत गीतमार्फत गरेका छौँ’ । ‘पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उनीहरूलाई नेपाली फिल्म क्षेत्रले स्वागत गर्नेमा विश्वस्त छु ।’

यस फिल्मबाट अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । उनीहरू दुईले अभिनय सिकेर फिल्ममा डेब्यु गर्न लागेका हुन् । आफूले सुन्दै हुर्किएको गीतमा नृत्य गर्न पाउँदा निकै खुसी लागेको अभिनेत्री रक्षाले बताइन ।

‘यो गीत मलाई निकै मन पर्छ । अहिले यसमै नृत्य गर्न पाए । पाउने प्रतिक्रियाको पर्खाइमा छु’, रक्षाले भनिन् । अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यत गरे ।

‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने ।

सार्वजनिक गीत ‘कालो चस्मा’ फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीत हो । यसको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

पाटन र भक्तपुर दरबार स्क्वाएरमा छायाङ्कन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन् । निर्देशक श्रेष्ठले पुरानो सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताए ।

‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु । अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ’, निर्देशक श्रेष्ठले भने ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायाङ्कन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।


ताजा खबर