गायक प्रकाश सपुतको डेब्यू फिल्म परदेशी २ ले ५१औं दिन पूरा गरेको छ ।
नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ ले शनिबार राजधानीसहितका केही हलहरुमा प्रदर्शनको ५१औं दिन पूरा गरेको हो ।
फिल्मले ५१ दिन पूरा गरेको अवसरमा निर्माण पक्षले केक काटेका थिए । शनिबार बेलुका आयोजित सेलिब्रेसन कार्यक्रममा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्माता राजेश वंशलसहितको उपस्थिति रहेको थियो ।
गत असोज २६ गतेबाट देशैभरमा प्रदर्शनमा आएको फिल्ममा प्रकाश,केकीसहित वर्षा शिवाकोटी,प्रशान्त तामाङ,दिलीप रायमाझी,नीर शाह,रमा थपलिया,सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ।
रमेश बिजीको कथा रहेको फिल्मले युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावलाई भन्छ। परदेशी २ ले नेपालमा ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।
नारायण रायमाझी र राजेश वंशलको यो तेस्रो सहकार्य हो। यसअघिका दुबैको सहकार्यमा बनेका फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ ले पनि ५१ दिनको यात्रा पार गरेका थिए।