३० दिनमा सकियो ‘११ः ५५’को छायांकन, उत्साहित श्रृष्टी

११.५५ मा घट्ने घटनाको वरिपरि रहेर निर्माण गरिएको फिल्म ‘११.५५’ को सुटिङ सकिएको छ । निर्माण टिमले निर्धारित समयभन्दा तीन चार दिन अघि नै फिल्मको सुटिङ सकाएको जानकारी गराएको हो । बुधबार मात्र निर्माण टिमले इन्ड क्ल्याप गर्दै फिल्मका कलाकार तथा प्राविधिकलाई धन्यवाद दिएको थियो ।

सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सागर खनाल र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मलाई केशव पाण्डेले निर्देशन गरेका हुन् । अष्ट्रेलियाको मेलबर्न बस्ने पाण्डेको यो डेब्यु निर्देशन हो । फिल्मलाई पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवाली मिलेर लेखेका हुन् । फिल्ममा एमएस अग्रजले अभिनय पनि गरेका छन् ।

प्रधुम्न मिश्र र रामशरण उप्रेतीको छायांकन रहेको फिल्मलाई भदौमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ । निर्देशक पाण्डेले फिल्म थ्रिलर विधामा बनेको बताउँदै विधागत फिल्म निर्माणमा यसले छाप छाड्नसक्ने विश्वास व्यक्त गरे ।

सृष्टि श्रेष्ठले पनि फिल्ममा काम गर्दा रमाइलो भएको बताउँदै दर्शकलाई पनि निराश नबनाउने बताइन् ।‘मैले ड्रामा र लभस्टोरी विधाका फिल्ममा धेरै काम गरेकी थिएँ । थ्रिलर मेरा लागि नयाँ विधा थियो । यही कारण पनि म उत्साहित छु । त्योभन्दा पनि सुटिङ गरुन्जेल मलाई एकदमै मजा आएको थियो । आशा छ दर्शकलाई पनि आउँछ,’ उनले भनिन् ।


ताजा खबर