आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ ट्रेलरलाई युट्युबमा दर्शकले उल्लेख्य रुचाएका छन् । गत माघ ११ मा ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरलाई हालसम्म ४ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ ।
एक्सन र ऐतिहासिक जनरामा निर्माण गरिएको यो फिल्ममा मिलन चाम्सको निर्माण र निर्देशन छ । ट्रेलरलाई २५ हजार दर्शकले लाईक गरेका छन् भने एक हजार तीन सय भन्दा बढी कमेन्ट ट्रेलरमा छ । निर्देशक चाम्सले ट्रेलर बुस्ट नगरे पनि दैनिक रुपमा १ लाख अग्र्यानिक भ्यूज पाउँदै आएको बताए । ट्रेलरमा प्राप्त सकारात्मक प्रतिक्रियाले निर्देशक चाम्स दंग छन् ।
फिल्ममा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
‘गोर्खा वारियर’ नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन गरी चार भाषामा निर्माण गरिएको छ । फिल्मको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अङ्ग्रेजी संस्करणको निर्माण पनि अन्तिम चरणमा छ ।
फिल्ममा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।
फिल्मको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् । यो फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
केही समय अघि बेलायतमा रेडकार्पेट प्रिमियर गरिएको यो फिल्म ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस (बाफ्टा) अवार्डको प्रारम्भिक मनोनयनमा परेको छ । फिल्म नेपालमा श्री बेंकेटेस फिल्मसका मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् ।