श्रीमती राधिकाको साथमा अध्यक्ष ओलीले हेरे ‘महाजात्रा’ – दिए यस्तो प्रतिक्रिया

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यका साथमा फिल्म ‘महाजात्रा’ हेरेका छन् । सोमबार बेलुका सुन्धारा स्थित सिने डी सेफमा उनी फिल्म हेर्न पुगेका थिए।

फिल्म हेरेपछि अध्यक्ष ओलीले भने,‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’ अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका ४० नेताले फिल्म हेरेका थिए । फिल्म अवधिभर मनोरञ्जनसँगै सन्देश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताइन् ।

‘फिल्मको सुरुआत देखि नै म हाँसी रहे । यसले भ्रष्टाचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रूपमा राजनीति गर्नुपर्छ भन्ने सन्देश दिएको छ । मैले यो शृङ्खलाका सबै फिल्म हेरेकी छु, यसमा महिलालाई सम्मान गरेर बनाइएको छ’, नेत्री ओलीले भनिन् ।

अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए ।

षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको जानकारी दिएको छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

गत चैत ९ गतेबाट नेपालसँगै विश्वभर एकसाथ रिलिज फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ । फिल्मम्याक्स दीपेशखत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


ताजा खबर