वैशाख १५ गतेबाट छायांकन सुरु हुने फिल्म ‘ज्वाइँ साब’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मका लागि जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए ।
रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्ममा हाँस्य कलाकारको रुपमा चर्चित रहेका जितुको फिल्ममा पनि माग बढेको छ । दर्शकले उनको अभिनयलाई रुचाएपछि निर्माताहरू पनि उनलाई अनुबन्धित गर्न लालायित देखिएका छन् ।
बसन्त निरौलाले निर्देशन गर्ने फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।
आउँदो बर्षको तिहारमा यो फिल्मलाई प्रदर्शन गरिने निर्देशक बसन्तको तयारी छ। यो फिल्मको कार्यकारी निर्मातामा विजय बस्याल छन्।