ब्लकबस्टर बन्यो ‘महाजात्रा’, दुई सातामा दश करोड चौध लाख ग्रस कलेक्सन

षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग फिल्म ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । फिल्मले दुई सातामा दश करोड चौध लाख ग्रस कलेक्सन गरेको छ ।

पहिलोसाता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको फिल्मले पछिल्लो साता तीन करोड नब्बे लाख ग्रस कलेक्सन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख गरिएको छ ।

दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले तेस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित भएको छ । निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले सम्पूर्ण परिवारलाई दर्शक बनाएर हलसम्म ल्याउन सफल भएको बताए ।

‘फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ । उहाँहरू आउँदा जति खुसी हुनुहुन्थ्यो, फर्किदा झनै खुसी देखिनुहुन्थ्यो । दर्शकलाई सन्तुष्ट पार्नु नै हाम्रो सफलता हो’, निर्माता खत्रीले भने,‘हामीले नेपालसँगै विदेशमा पनि उस्तै व्यवसाय भएको विवरण प्राप्त गरेका छौँ । प्रवासमा आयोजित शोहरू सोल्ड आउट भएको देख्दा हर्षित भएका छौँ ।’

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिनुभएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


ताजा खबर