नेपाली विद्यार्थीहरुको सपनाको देश अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली चलचित्र ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्रको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो । आगामी बैशाख छेकोबाट छायांकन सुरु हुने चलचित्रमा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी बाँधिनेछ ।
ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ । छायांकनमा निस्कनुअघि चलचित्रका लागि अन्य कलाकार छनोट गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । चलचित्रले नेपालदेखि अष्ट्रेलियासम्मको कथा बोल्नेछ । मुलतः चलचित्र अष्ट्रेलिया पुगेपछि नेपालीले गर्नेपर्ने संघर्षको कथामाथि निर्माण हुनेछ ।
अम्बर रसाइली प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको चलचित्रलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् । चलचित्रको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे छन् । एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने चलचित्र स्तरीय बन्नेमा प्रस्तुतकर्ता रसाइली विश्वस्त देखिए । चलचित्रको कथावस्तु राम्रो रहेको उनको दाबी छ ।
कार्यक्रममा सविनले आफू एक्सन भूमिकामा देखिने संकेत गरे । उनले भने, ‘हुन त मैले यसअघि पनि धेरै एक्सन चलचित्र गरेको छु । तर, यसपटक केही फरक देख्न पाइनेछ । मैले निर्वाह गर्ने भूमिका पनि पृथक लाग्न सक्छ ।’ त्यस्तै, रीमाले कथावस्तुले आफूलाई चलचित्रमा काम गर्न आकर्षित गरेको बताइन् । सविनसँग पहिलो पटक चलचित्रमा स्क्रिन शेयर गर्न उनी उत्साहित देखिएकी छन् ।