कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म ‘मनसरा’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार इन्टरनेटमा रिलिज गीत ‘झ्यालको’मा फिल्मका मुख्य कलाकारहरुका केही दृश्यहरु समावेश गरिएका छन् । जसले फिल्मको कथासार बुझाउँन मदत गर्छन् ।
झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द रचना सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न सकिन्छ । फिल्मको यसअघि टिजर, ट्रेलर तथा फरक शैलीको प्रचारले फिल्म चर्चाको शिखरमा छ । आज सार्वजनिक गीतले पनि फिल्मको प्रचारमा ठुलो सहयोग पुग्ने बुझाई निर्माण टिमको छ । ‘मनसरा’ले नेपाली फिल्ममा हुने गरेको दृश्य कथाको खडेरीलाई सम्बोधन गर्ने देखाएको छ ।
फिल्ममा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुनासँगको निकटता बाजेकी नेवार्नी पत्नी बनेकी मेनुकासँगको अमिलो सम्बन्धको कथा पेस गरेको छ । यस्तै, दयाहाङ र मिरुनासँग सम्बन्ध पनि फिल्ममा रहेकाले यो कथा र पात्रको एकअर्काको सम्बन्धको जालो कन्फ्युजिङ रहेकाले दर्शकप्रति कौतुहल्ता पैदा गर्न सफल देखिएको छ ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।
फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन फिल्ममा रहेको छ ।
त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ । क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।