शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बिच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गरेको छ ।
फिल्मका निर्माता शैलेन्द्र डी कार्कीले आगामी दिनमा पनि ग्राउन्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफूहरूले ग्राउन्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको बताए । ‘हाम्रो प्राथमिकतामा जहिले पनि पर्दा पछाडिका मान्छे पर्छन् र उनीहरूलाई प्रोत्साहनको जरुरी रहने भएकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउन्ड स्टाफलाई नगद सहयोग गरेको हो’, उनले भने ।
उपेन्द्र सुब्बा निर्देशित यो फिल्मका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । फिल्मको कथा पनि स्वयम् निर्देशक सुब्बाले नै लेखेका हुन् ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।