‘फर्की फर्की’
यो जेठमा दुई सातामा चार वटा फिल्म रिलिज हुँदैछन् । बाँकी तीन साता कुनै फिल्मको प्रदर्शन तय गरिएको छैन । जेठ १० गते ‘फर्की फर्की’ र ‘पुजार सार्की’ तथा जेठ २५ मा ‘लन्डन टू पेरिस’ र ‘गाउँ आएको बाटो’ फिल्म प्रदर्शन हुँदैछ । जेठमा पाँच शुक्रबार भएता पनि बिदा र उचित समय देखेर नै यी प्रदर्शन मिति घोषणा गरिएका हुन् ।
‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले आफूले पहिले नै यो फिल्मको प्रदर्शन मिति तय गरिएको बताए । उनले भने, “हामीले खाली समय हेरेर प्रदर्शन घोषणा गरेका हौँ, हामीले कसैसँग प्रतिस्पर्धा गर्न गएका होइनौँ, हामी विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने तयारीअनुरुप आएका हौँ ।”
निर्देशक सुयोग गुरुङले निर्देशक गरेको यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायतका कलाकारको अभिनय छ ।
‘पुजार सार्की’
निर्देशक दिनेश राउतले निर्देशन गरेको यो फिल्म पनि सेम मितिमा रिलिज हुँदैछ । जातीय र वर्गीय विभेदको कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत प्रस्तुत गरेको यो फिल्मले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए ।
यो फिल्मको प्रदर्शन निर्माताले तय गरे, ‘सायद त्यो समयभन्दा अगाडि जाँदा धेरै समय लाग्थ्यो होला, मैले यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेदले विनाश भन्ने देखाउन खोजेको छु, मैले अघिल्ला फिल्महरुमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ”, निर्देशक राउतले भने ।
विकास सुवेदीको लेखन रहेको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
‘लन्डन टू पेरिस’
जेठ २५ गते दुईवटा फिल्मले प्रदर्शन मिती तय गरेका छन् । यो मितिमा प्रदर्शन हुने फिल्म ‘लन्डन टू पेरिस’ हो। जसलाई, निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका छन् । यो फिल्मले युवापुस्ताको प्रेम र त्यसलाई परिवारसँग समायोजन गर्न नसक्दाको कथा पेश गर्छ । निर्देशक लामिछानेले यो फिल्मले युवासँगै अभिभावकलाई पनि सचेत गराउने बताउछन् ।
उनी भन्छन्, -‘ यो फिल्ममा हामीले अहिलेको पुस्ताका प्रेम देखाएका छौँ, अघिल्लो पुस्ता र अहिलेको पुस्ता बीचको खाडललाई यो फिल्मले प्रस्तुतका साथै समाधान पनि देखाएका छौँ, फिल्ममा मनोरञ्जन छ नै साथै प्रवासी नेपालीको कथा पनि छ’,। प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद गरेको यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का, निश्चल खड्का, गरिमा शर्मालगायतका कलाकारको अभिनय छ ।
‘गाउँ आएको बाटो’
फिल्म ‘गाउँ आएको बाटो’ लाई नवीन सुब्बाले निर्देशक गरेका हुन् । गाउँमा बाटोले विकाससँगै के–के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाइएको छ। “कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ, बसाइँसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ, हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ, यो हाम्रो ग्रामीण भेगको कथा हो”, निर्देशक सुब्बाले भने ।
महेश राई र निर्देशक सुब्बाको लेखन रहेको यो फिल्मको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत सृजना गरेका छन् । यो फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ ।
जेठमा पर्याप्त समय भएपनि दुई मितिमा मात्र फिल्मको प्रदर्शन तय गरिनु विदेशी फिल्मलाई छल्दै स्थानीय बिदा लक्षित गरिएको हुनसक्ने वितरक करण श्रेष्ठ बताउछन् ।
दुई हप्तामा ४ फिल्म प्रदर्शन हुनु राम्रो पक्कै पनि होइन् । सबैको सहमति भएको भए सबैले एकल प्रदर्शन पाउँथे, मपाईंले गर्दा सहमति भएन भन्न कठिन छैन, यसले राम्रो सन्देश पक्कै जाँदैन ।