निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्म ‘पुजार सार्की’ प्रदर्शनको छैटौँ दिन मङ्गलवार अन्तिम शो मध्यरात १ बजे सकियो। काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा हाउस फुल दर्शकका साथ करिब साढे १० बजे शो सुरु भएको थियो। उक्त शो सकिने समयमा फिल्मका अभिनेता पल शाह, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल तथा नेपाल वितरक रोहित कट्टेल दर्शक भेट्न हल पुगे। मध्यरातमा पनि आफ्नो प्रिय कलाकार आफ्नो सामुन्ने देखेपछि दर्शकको खुसीको सीमा नै रहेन।
त्यसो त नेपाली फिल्मले मध्यरातसम्म शो पाउनु नै दुर्लभ हो, त्यसमा पनि रातको १ बजे छुट्ने शो मा हाउस फुल दर्शक हुनु आफैँमा अचम्मको कुरा हो। मध्यरातमा समेत हल पुगेर आफ्नो सोसल मिडियाबाट प्रत्यक्ष प्रसारण गरेका पल निकै उत्साहित देखिए। उनले आफूलाई नेपाली फिल्मले निकै फड्को मारेको महसुस गरेको बताए।
“हामीले नेपाली फिल्मको शो जहिले पनि बढीमा नौ बजेसम्म हेर्थ्यौँ। विदेशी डिमान्डेड चलचित्रहरू चाहिँ अबेर राती पनि चल्ने गरेका थिए। तर, आज भने हामी हाम्रै फिल्म मध्यरात साढे १२ बज सकिएको प्रत्यक्षदर्शी भएका छौँ, त्यसमा पनि हाउस फुल दर्शकसहित। रातीको शो देख्दा र दर्शकको उत्साह हेर्दा नेपाली फिल्मले निकै फड्को मारेको महसुस भएको छ,” पलले बताए। पलले आइतबार जापानको टोकियोमा भएको ऐतिहासिक शो सम्पन्न गरेर सोमवार साँझ काठमाडौं झरेका थिए। उनले जापान जसै गरी नेपालमा पनि नयाँ रेकर्ड राती सवा दश बजे भएको शो हुनसक्ने सम्भावना व्यक्त गरे। मङ्गलवार दिनभर पलले हल भिजिट गरी दर्शक तथा मिडियासँग साक्षात्कार गरेका थिए।
मध्यरातमा हल पुगेका निर्देशक राउतले आफूले निर्देशन गरेका सबै फिल्महरू मध्ये ‘पुजार सार्की’ बढी सफल भइसकेको बताए। मध्यरातमा समेत हल भिजिट गरेको आफ्नो पहिलो अनुभव रहेको बताउँदै राउतले आफ्नो सपना पुरा भइरहँदा उत्साहित रहेको बताए। “व्यावसायिक सफलतासँगै समीक्षागत रूपमा पनि मैले निकै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छु। मेरो एउटै सपना के हो भने मैले बनाउने फिल्म व्यावसायिक र समीक्षागत दुवै रूपमा सफल रहनु हो, जुन काम अत्यन्त कठिन र जोखिमपूर्ण छ। यो जोखिम मैले उठाएको थिएँ, सफल बन्दै छु भन्ने लागेको छ,” राउतले प्रसन्न मुद्रामा बताए।
जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’ले ग्राण्ड ओपनिङ गरेको थियो। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु स्टारर यो फिल्मले पहिलो दिनदेखि नै उच्च सङ्ख्यामा दर्शकसहित चलिरहेको छ। छैटौँ दिन मङ्गलवार पनि सार्वजनिक बिदा भएको कारण बिहानैदेखि दर्शकको चाप हलमा देखिएको थियो। हलमा दर्शकको चाप बढ्नु र बेलुकासम्मका सबै शो हरू हाउस फुल भएपछि देशभरका प्राय: हलहरूले शो थप गरेका थिए। एफक्युबले पनि दर्शकको माग हेरी सवा १० बजेको शो थप गरेको थियो। बुधवारका शोहरुमा पनि दर्शकको चाप देखिएको छ।