निर्देशक माओत्से गुरुङले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । कलाकार समेत रहेका उनले ‘पेनसनपट्टा’ नामक फिल्म निर्देशन गर्न लागेका हुन् ।
फिल्मको कथा पनि माओत्से आफैँले लेखेका छन् ।
फिल्मले लोभी केटाको कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए । उनले भने, ‘शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि, एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने कुरा यसमा हुनेछ।’
निर्माणमा माओत्से गुरुङ फिल्म्सलाई डिबी गुरुङको को–प्रोडक्सन सहयोग गर्नेछ ।
फिल्मका कलाकार भने सार्वजनिक गरिएको छैन । केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने तयारी रहेको निर्माणपक्षले जानकारी दिएको छ ।
केही महिना अगाडि माओत्सेको निर्देशन रहेको फिल्म ‘दयारानी’ सार्वजनिक भएको थियो । यो फिल्मले बक्सअफिसमा राम्रै कलेक्सन गरेको थियो ।