‘मोदीबेनी’को पोस्टर सार्वजनिक, केन्द्रमा वर्षा

साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ ।

वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठूलो राखिएको छ । यसको मतलब फिल्ममा वर्षाको भूमिका निकै महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ ।

यसबाट त्रिकोणात्मक कथा फिल्ममा रहेको अनुमान लगाउन सकिन्छ ।

यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए, जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो। नयाँ पोस्टरको थिम ‘सर्कल थिम’मा रहेको छ, जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यहरूलाई घुमाइएको छ ।

रोचक र रहस्यमय कथा बोल्ने यस पोस्टरमा फिल्मको शीर्षकलाई पनि सर्कल थिममा नै राखिएको छ ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्मको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शङ्कर कोइरालाले बताए ।

फिल्ममा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीप सहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ ।


ताजा खबर