अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।
गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ । गीतको रिदममा फिल्मको ब्याग्राउण्ड म्युजिक तयार गरिएको निर्देशकले केहीदिन अगाडी आयोजित सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए । फिल्मको दृश्यभाषा र क्यारेक्टरको हिँडाइ र बोलाईलाई समेत फिल्मको यही गीतको थिममा नै राखेर प्रस्तुत गरिएको उनको दाबी थियो ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
फिल्ममा जनक घर्ती मगरको लगानी छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । सिनेमा असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।
फिल्मका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।