‘देवी’मा नाजिर र गौरवको चरित्र पात्र सार्वजनिक

नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के मुख्य भूमिकामा रहेको फिल्म ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष चरित्रका पोस्टर सार्वजनिक गरेको छ ।

निर्माणपक्षले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक गरेको हो । फिल्मकी मुख्य अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ ।

सञ्जोग राईले निर्देशन गरेको फिल्मले क्राइम थ्रिलर कथा पेस गर्ने जानकारी निर्माणपक्षले दिएको छ ।

भदौ २१ गते रिलिज हुने ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म हो । सार्वजनिक प्रदर्शनका लागि यो फिल्मले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।

यसै फिल्मबाट निर्देशनमा डेब्यू गरिरहेका राईले आफ्नो फिल्मले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा पेस गर्ने बताएका छन् । आफूले यसमा व्यावसायिकभन्दा पनि इमान्दार भएर एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको बताए ।

अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी अधिकृत तथा नाजिर एक संस्था सञ्चालकको भूमिकामा पर्दामा प्रस्तुत हुनेछन् । फिल्ममा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।

जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।


ताजा खबर