फिल्म ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट ३० सेकेन्ड लामो टिजरले समाजमा घट्ने बलात्कारजस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा देखाइएको छ ।
सार्वजनिक टिजरमा समावेश संवादअनुसार फिल्म केही वर्षअघि सुदूरपश्चिममा घटेको १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित रहेको बुझ्न सकिन्छ ।
भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको टिजरमा फिल्मका मुख्य कलाकारलाई स्थान दिइएको छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको टिजरमा पीडितको बयान र स्केच तयार हुँदा पनि निरीह बनेको प्रहरी र बलात्कारीको हत्या गर्दै हिँड्ने पात्रको कथामा फिल्म केन्द्रित रहेको टिजरले खुलासा गर्छ ।
फिल्मका निर्देशक सञ्जोग राई हुन् । निर्देशक राईले र अजय गौतमसँग मिलेर फिल्मको कथा लेखेका छन् ।
सार्वजनिक प्रदर्शनका लागि यो फिल्म निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।
फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।
जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।