‘अञ्जिला’को प्रदर्शन मिति सारियो

निर्देशक मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ को प्रदर्शन मिति सारिएको छ । महिला राष्ट्रिय फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित फिल्मको प्रदर्शन मिति माघ ११ गतेबाट सारिएको हो ।

अब यो फिल्म फागुन २९ गते रिलिज हुने भएको छ। निर्देशक चाम्सले सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नुपरेको जानकारी गराएका छन्।

फिल्म ‘अञ्जिला’मा एञ्जिला स्वयंको मुख्य भूमिका छ। उनीसँगै दयाहाङ राई, मिरूना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तानलगायत कलकारको पनि अभिनय छ । फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठको पनि प्रमुख भूमिका छ।

एञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइएको निर्देशक चाम्सको भनाइ छ।

१४ वर्षदेखि एञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दीक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एञ्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए। एञ्जिलाको संघर्ष र सफलताको कथाले धेरैलाई ‘इन्स्पायर’ गर्छ भन्ने लागेर फिल्म बनाएको निर्माणपक्षको दाबी छ।

यो फिल्म एञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौंमा खिचिएको छ। सुदीप बरालको डिओपी रहेको यस फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन्।


ताजा खबर

No comments to show.