पोस्टर र टिजर रिलिजसँगै ‘रावायण’ले बढायो दर्शकमा कौतुहलता

नायक पल शाहलाई एक्सन अवतारमा प्रस्तुत गरिएको फिल्म ‘रावायण’ यतिबेला दुई पोस्टरसँगै टिजरका कारण चर्चामा छ । फिल्ममा ‘लभर ब्वाई’को पहिचान बनाएका पललाई फरक गेटअप र एक्सन अवतारमा प्रस्तुत गरिएपछि फिल्मप्रति दर्शक र फिल्मकर्मीको चासो ह्वात्तै बढेको छ ।

निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्म आगामी भदौ २१ गतेबाट रिलिज हुँदैछ । फिल्म निर्माण पक्षले फिल्मको प्रचार सामाग्रीका रुपमा पहिलोपटक पल फिचर्ड ‘रावायण’को फस्टलुक सार्वजनिक गरेको थियो । जसमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा प्रस्तुत भएका थिए । फिल्ममा कान्छा र रागव नामका दोहोरो पात्रको भूमिकामा छन् । उनका अनुसार फिल्ममा उनी पोजेटिभ र नेगेटिभ भूमिकामा छन् ।

त्यस्तै दोस्रो पोस्टरमा नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड थिए । जसमा पललाई केही गम्भीर र पुजालाई रिसाएको भावमा देखाइएको थियो । दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देखाइएकाले पनि फिल्मले एसिडविरुद्धको कथा बोल्न सक्ने अनुमान लगाइएको छ ।

फिल्मको टिजर उत्तिकै सशक्त छ । श्री श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा श्रीले नायक पललाई सशक्त रुपमा एक्सन मुडमा प्रस्तुत गरेका छन् । टिजरमा पल, प्रमोद अग्रहरि, प्रकाश शाहलगायतका कलाकारको प्रस्तुती दमदार छ ।

फिल्ममा प्रेमकथाका फिल्म निर्माणमा अब्बल मानिएका निर्देशक सुदर्शन थापाको निर्देशन छ । उनले ‘रावायण’ आफ्ना लागि चुनौतीपूर्ण रहेको बताए । ‘मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको छु,’ उनी भन्छन् ।

टिजरलाई हालसम्म १० लाख बढी दर्शकले हेरिसकेका छन् भने चार हजार बढी प्रतिक्रिया दर्शकका छन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।


ताजा खबर