आगामी दशैंको फूलपाती अर्थात् असोज २४ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘छक्कापञ्जा-५’ को पहिलो गीत नै विवादमा तानिएको छ । केही दिन अगाडि सार्वजनिक भएको ‘बिहे भको छैन…’ बोलको गीत समाज भड्काउने खालको भएको भन्दै विवादतमा तानिएको हो ।
‘बिहे भएको छैन, कुमाररकुमारी नि होइन’ भन्ने शब्द अमर्यादित रहेको भन्दै आलोचना हुन थालेको छ । साथै, यो गीतलाई चोरीको आरोप समेत लागेको छ । वरिष्ठ संगितकार शम्भु राईको एउटा गीतसँग यो गीतको लय शब्द मिलेको भन्दै आरोप भइरहेको हो । यसबारेमा निर्माण पक्षले भने कुनै प्रतिक्रिया जनाएको छैनन् ।
यो गीतका शब्दहरू फिल्मका निर्माता दीपकराज गिरी र संगीतकार दीपक शर्माले मिलेर लेखेका हुन् ।
यसैबीच गायिका ज्योति मगरले यस गीतलाई लिएर आफ्नो प्रतिक्रिया जनाएकी छन् ।
मगरले ‘संस्कारीहरूले यो गीत बुझेनन् कि क्या हो ?’ भन्दै कटाक्ष गरेकी छन् । उनी लेख्छिन्, ‘बिस्तराले पोल्यो’, ‘तीन महिने सुई लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरूले ‘छक्का पन्जा ५’को गीत ‘बिहे भाको छैन, कुमारी पनि हैन म’ गीतलाई कुन रूपले लिए होलान् । यो गीतको भाव बुझेनन् कि क्या हो ?’ उनले गीतले बिहे गर्या छैन । तर संसर्ग गर्याछु भन्न खोजेको उनको टिप्पणी छ । उनले अगाडि थपेकी छन् ‘खोइ सस्कारी हरु भुक्दै भुकेनन त ’ ।
यता, गीतका बारेमा टीकाटिप्पणी हुन थालेपछि निर्माता गिरीले सामाजिक सञ्जालमा प्रतिवाद गरेका छन् । शब्दमा आपत्ति जनाउनेहरूलाई शब्दकोश हेर्न उनको सुझाव छ ।
‘केही साथीहरूले कुमारीको अर्थ खोजिरहनु भएको रहेछ । शब्दको हेरौं न के लेख्या रहेछ रु शब्दको सही अर्थ खोज्ने ठाउँ त त्यही नै होला होइन र रु’ उनले लेखेका छन् ।
नेपाली शब्दकोशमा ‘कुमारी’ शब्दलाई १२ वर्षसम्मकी अविवाहित कन्या, छोरी, पुत्री, पार्वती, दुर्गा, र भाद्र कृष्णपक्षमा यात्रा गरिने काठमाडौंकी देवी भनेर परिभाषित गरिएको छ ।
‘छक्का पञ्जा-५’ फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दीपक र वर्षासँगै केदार घिमिरे, निर्मल शर्मालगायत कलाकारको अभिनय छ।