यतिवेला ‘सक्किगोनि’ टिमले निर्माण गर्ने फिल्म ‘लाज शरणम्’को कलाकार छनोट र प्रि-प्रोडक्सनको काम धमाधम भइरहेको छ । फिल्ममा एकपछि अर्को कलाकार अनुबन्धित भएका छन्। यो फिल्ममा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने देखिएको छ ।
गत साउनमा फिल्मका लेख तथा निर्देशक कुमार कट्टेलको जन्मदिनको अवसरमा औपचारिक निर्माण घोषणा गर्दा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी दिइएको थियो । आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहने फाइनल थिए । बाँकी कलाकारको जानकारी विस्तारै दिने बताइएको थियो ।
त्यससँगै फिल्ममा निर्माण टिमले एकपछि अर्को कलाकार अनुबन्धित गर्दै गइरहेको छ । अहिलेसम्म फिल्ममा रामभजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी) सक्किगोनि टिमबाट र बाहिरबाट अभिनेता महेश त्रिपाठी र अभिनेत्री रेनु नाथ योगी अनुबन्धित भइसकेका छन् ।
यसैबीच फिल्मको मुख्य अभिनेतामा हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार फिल्ममा कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो । यसअघि उनी फिल्ममा रहने नरहने भन्ने कुनैपनि जानकारी निर्माण टिमले दिएको थिएन् । फिल्मको निर्माण घोषणा कार्यक्रममा कक्रोज नदेखिएपछि मिडियामा कक्रोज टिममा नअटेपछि उनी रिसाएर फिल्मको कार्यक्रममा नै नआएको चर्चा चलेको थियो ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेका छन् । आगामी भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका हलमा रिलिज हुनेछ ।