‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक भएको केही घण्टामै ट्रेन्डीङमा

अभिनेता विराज भट्टको दोस्रो निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक भएको छ।

असोज २४ गते (दशैंको फूलपाती) मा प्रदर्शनमा आउने शनिबार फिल्मको ‘सिनेमा हेर्न जाउँ’ बोलको गीत सार्वजनिक भएको हो। यो गीत सार्वजनिक भएसँगै युट्युब ट्रेन्डीङमा पर्न सफल भएको छ ।

अहिले यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डीङ १६ मा रहेको छ भने एक लाख ६५ हजार भन्दा बढी दर्शकले हेरिसकेका छन् ।

रोमान्टिक गीतले युवा र युवतीबीचको प्रेम सम्बन्ध र टाइम स्पेन्डको कथा भनेको यस गीतको भिडियोमा नव-कलाकार समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाललाई फिचरिङ गरिएको छ ।

सोनु गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी अभिनेत्री हुन् । उनको यो डेब्यु नेपाली फिल्म हो । यस गीतको भिडियोलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन्।

गीतमा शब्द र संगीत अर्जुन पोखरेलको छ भने स्वर भारतीय गायक नाकाश अजिजको रहेको छ। नाकाशले ‘जबरा फ्यान’, ‘सारी के फल सा’, ‘पुष्पा पुष्पा’ जस्ता चर्चित गीतहरू गाइसकेका छन्। उनले यस अघि नेपाली फिल्म ‘रावायण’को शीर्ष गीतमा पनि स्वर दिएका थिए।

फिल्ममा समीर भट्टसँगै विराज भट्ट स्वयं मुख्य भूमिकामा देखिनेछन्। साथमा, पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनू चन्द्रपाल, कालु राना, शुलेमान शंकर (इकु), भिष्म जोशी, तारा शर्मा, र साउथका चर्चित कलाकार स्टन्ट सिल्भाले पनि अभिनय गरेका छन्।

फिल्मको छायांकन महेश पौडेलले गरेका हुन् भने संगीत अर्जुन पोखरेल र निरज सिंहले तयार पारेका छन्। कोरियोग्राफी रामजी लामिछाने र सुनिल क्षेत्रीले मिलेर गरेका छन्। फिल्मको सम्पादन प्रवीन केएल र भुपेन्द्र अधिकारीले गरेका छन्। कथाको लेखन स्वयं विराज भट्टले गरेका छन्, पटकथा र संवाद सन्तोष सरकारले लेखेका छन्।

फिल्मको द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन्, जसले ५० भन्दा बढी साउथ भारतीय फिल्महरूमा द्वन्द्व निर्देशन गरिसकेका छन्।


ताजा खबर