लोकप्रिय हास्य अभिनेता बुद्धि तामाङ आगामी फिल्म ‘ज्वाइँ साब’मा नयाँ अवतारमा देखिदै छन्। प्रायः फिल्ममा मुख्य पात्रको साथीका रुपमा देखिने बुद्धि यसपटक पनि उही भूमिकामा छन्, तर फरक शैलीमा। बुद्धि तामाङले यो फिल्ममा भगवान तामाङ नामको चरित्र निभाएका छन्, जसले फिल्मका प्रमुख पात्र जितु नेपाललाई ‘बुस्ट’ गर्ने जिम्मेवारी लिएका छन्।
बुद्धि तामाङको अनुसार, “फिल्ममा म जितु नेपाल दाईलाई सपोर्ट र बुस्ट गर्दै उनको चरित्रलाई माथि उकास्ने भूमिकामा छु।” बुद्धिको यो भूमिका मुख्य पात्रलाई सहयोग गर्दै कथा अगाडि बढाउन महत्वपूर्ण रहनेछ।
फिल्म ‘ज्वाइँ साब’को कथा मनोरञ्जनात्मक हुने बुद्धिको विश्वास छ। उनी भन्छन्, “फिल्म भनेको मान्छेलाई मनोरञ्जन दिनु हो। ‘ज्वाइँ साब’ हेर्दा दर्शकले भरपूर मजा लिनेछन्। फिल्ममा सामाजिक, मनछुने र हँसाउने कथा पाइन्छ।”
फिल्मको ट्रेलरमा नायिका निती शाहलाई जित्नका लागि विभिन्न युवाहरूले प्रतियोगितामा भाग लिएको देखाइएको छ। बुद्धि तामाङ पनि त्यस प्रतियोगितामा सहभागी छन्, जहाँ असल ज्वाइँ बन्न के-के नियम चाहिन्छ भन्ने प्रश्नमा केन्द्रित छ। उनले भने, “प्रतिस्पर्धा एक असल ज्वाइँ बन्ने नियमहरूको आधारमा छ, तर भाग लिन निकै चुनौतीपूर्ण हुन्छ।”
‘ज्वाइँ साब’ बुद्धिका लागि पछिल्ला फिल्महरू भन्दा फरक रहेको छ। “दर्शकले ममा नयाँपन पाउनुहुनेछ, जुन नयाँपन थाहा पाउन फिल्म हेर्नु पर्छ,” उनी भन्छन्।
यो फिल्म निर्देशक वसन्त निरौलासँग बुद्धिको दोस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘होलिडे’मा सहकार्य गरेका थिए। बुद्धि तामाङ र जितु नेपालबीचको सहकार्य भने ‘वडा नम्बर’, ‘छक्का पन्जा’ शृंखला र ‘कार्साङ’मा पनि देख्न पाइन्छ।
फूलपातीको दिन असोज २४ गते रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय रहेको छ।