निश्चलले हलबाट उतारे ‘बेहुली फ्रम मेघौली’

असोज १७ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’लाई अब हलबाट उतार्ने निर्णय यसको निर्माणपक्षले गरेको छ। भोली बिहीबारदेखि देशभरका हलहरूबाट यो फिल्मलाई हटाइनेछ। फिल्मका निर्माता तथा कलाकार निश्चल बस्नेतले आफ्नो सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।

निश्चलले फिल्म अब एमएसएम भिडियो एप मार्फत सार्वजनिक गरिने बताएका छन्। तर, उनले यो एपबाट अमेरिका, जापान, क्यानडा, र सिंगापुरमा भने फिल्म हेर्न नमिल्ने जानकारी पनि दिएका छन्।

‘बेहुली फ्रम मेघौली’को निर्देशन साजन काफ्ले र आकाश बरालले गरेका हुन्। फिल्मले पहिलो हप्ता ऐतिहासिक शोज पाएको थियो र व्यापार पनि उत्साहजनक रहेको थियो। तर, दोस्रो हप्तामा तीन नयाँ नेपाली फिल्महरू रिलिज भएपछि ‘बेहुली फ्रम मेघौली’का शोज घटेका थिए, जसले यसको व्यापारलाई पनि प्रभावित बनायो।

निश्चलले केही दिनअघि हिन्दी फिल्म ‘जिग्रा’लाई अकुपेन्सी नहुँदा पनि हलमा राखेको र आफ्नै फिल्मको उच्च अकुपेन्सी हुँदाहुँदै शोज घटाइएको गुनासो गरेका थिए।

फिल्मको निर्माणमा निश्चल बस्नेत र स्वस्तिमा खड्काले सहकार्य गरेका छन् र यी दुई नै फिल्मका मुख्य कलाकार हुन्। निर्माणपक्षको निर्णय अनुसार अब दर्शकहरूले हलमा नभई डिजिटल प्लेटफर्म मार्फत ‘बेहुली फ्रम मेघौली’ हेर्न पाउनेछन्।


ताजा खबर