कार्तिक १५ बाट पोस्टपोण्ड भयो ‘एक्टर’, अब कहिले प्रदर्शन होला ?

फिल्म ‘एक्टर: टेक वन’को प्रदर्शन मिती पोस्टपोण्ड भएको छ । यसअघि लक्ष्मीपूजाको दिन कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेर पोस्टर र टिजर सार्वजनिक भइसकेको फिल्म अब तीन महिना पछाडि सरेर माघ १६ गते रिलिज हुने भएको छ।

निर्माण कम्पनी अदृत फिल्म्सले बिहीबार विज्ञप्ति जारी गर्दै मानवीय र प्राविधिक समस्याका कारण फिल्मको मिति सार्न बाध्य भएको जानकारी दिएको हो। तर, फिल्मको प्रदर्शन मिति पछाडि सार्नुको मुख्य कारण भने बलिउडका दुई ठूला फिल्महरू ‘सिंघम ३’ र भूल भूलैयाँ ३’सँग हुन सक्ने भिडन्त भएको बताइन्छ ।

यी दुवै फिल्मले नेपालमा राम्रो व्यापार गर्न सक्ने सम्भावना रहेको हुँदा नेपाली फिल्म ‘एक्टर’ले ती फिल्महरूको चेपुवामा पर्न सक्ने डरले प्रदर्शन मिति सारिएको अनुमान गरिएको छ। यता, कात्तिक १५ गते फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि रिलिज हुने भएकाले धेरै फिल्महरू एकैचोटि प्रदर्शनमा आउँदा व्यापार प्रभावित हुनसक्ने जोखिम देखिएको छ।

निर्माताहरूले नयाँ प्रदर्शन मितिमा माघ १६ गतेलाई छानेका छन्, जुन शहीद दिवसको विदा परेको दिन हो। त्यसैगरी माघ १७ गते सोनाम लोसारको पनि विदा भएकाले फिल्मले दुई दिनसम्म विदाको फाइदा लिन सक्नेछ। अहिलेसम्म यो मितिलाई अन्य कुनै फिल्मले बुक गरेको छैनन्। माघ ११ गते ‘के घर के डेरा: घर नम्बर २’ प्रदर्शनमा आउने तयारीमा रहेको छ, जसले ‘एक्टर’लाई केही समयको एकल प्रदर्शन अवसर दिने देखिन्छ।

राजन भुसालको निर्देशनमा तयार भएको यो फिल्ममा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, र सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय रहेको छ। दिव्या रायमाझीले यस फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन्। उनी चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी हुन्। फिल्ममा राजबल्लभ कोइरालाले करिब १० वर्षपछि कमब्याक गरेका छन्।

यो फिल्म अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्मका निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।

नरेन्द्र मैनालीले छायाङ्कन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । फिल्मत्रमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन्, र शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका छन् ।


ताजा खबर