निर्देशक शंकर घिमिरेको कमब्याक फिल्म ‘तेल भिसा’ को प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसार तीव्र हुँदै गएको छ। यसै क्रममा मंगलबार फिल्मको तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ।
अमेरिकामा छायांकन गरिएको यो गीतमा अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र रमाइलो नाचगानलाई देखाइएको छ। जसले दर्शकहरूमा थप उत्साह पैदा गर्ने देखिन्छ।
सार्वजनिक गीतमा अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको छ भने एक नारायण भण्डारीले शब्द रचना गरेका छन्। संगीतकार अविरल स्वयंले यस गीतमा संगीत भरेका छन्।
शिशिर खातीले कोरियोग्राफी गीतको भिडियोमा दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी र अनुराग कुँवर जस्ता कलाकारहरूले नृत्य प्रस्तुत गरेका छन्।
गीतमा फिल्मका मुख्य कलाकारहरू वर्षा राउत, विपिन कार्की, पूजा चन्द, र ऋचा घिमिरेलाई पनि देख्न सकिन्छ।
फिल्मको प्रदर्शन मिति मंसिर ७ गते तय गरिएको छ। ‘तेल भिसा’ मा बुद्धि तामाङ, सुचित्रा उप्रेती, फ्रान्सिस शेरमन, र ज्याक बेल जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ। विपिन कार्कीले बुबा र छोराको दोहोरो भूमिका निभाएका छन्।
फिल्मको प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् भने अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेका छन्। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माताको रूपमा छन्। सुशन प्रजापतिको छायांकनमा बनेको यो फिल्मलाई दर्शकहरूले निकै उत्सुकताका साथ पर्खिरहेका छन्।
गीत रिलिज कार्यक्रममा ऋचा घिमिरेले १० वर्षपछि फिल्ममा फर्कँदा आफूले अत्यधिक उर्जा महसुस गरेको बताइन्। उनले भनिन्, “फिल्म नखेल्दा जीवनको कमी महसुस हुने त होइन, तर आफूलाई मन परेको काम गर्दा अनौठो उर्जा आउने रहेछ। १० वर्षपछि फिल्ममा काम गर्दा मलाई यो महसुस भयो।”