फ्लोरमा निस्कियो ‘जेरी अन टप’

अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘जेरी अन टप’को छायांकन प्रारम्भ भएको छ । सोमबार पाटनस्थित बगलामुखी मन्दिरमा स्कृप्ट र क्यामेरा पूजा गर्दै निर्माण टिम फ्लोरमा निस्केको हो ।

शुभसाइतको अबसरमा आयोजित कार्यक्रममा फिल्मको कास्ट एण्ड क्रू उपस्थित रह्यो । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले फिल्म सफलताको शुभकामना दिए । सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्मको लगानीमा न्यौपानेलाई दिपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माता छन् ।

सुयोग गुरुङको निर्देशन रहने फिल्मको कथा हेमराज बिसीको हो । यो फिल्ममा विश्व तिमिल्सिनाको पटकथा रहनेछ । रीतसिंह बोहरा मुख्य सहायक निर्देशक छन् । उज्जल जोशीको छायांकन रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।

युवा स्टार अनमोल केसीको प्रमुख अभिनय रहने फिल्ममा उनका पिता भुवन केसीले रिलमा पनि अनमोलको बुवाकै भुमिका निभाउँदैछन् । बाल कलाकार रहँदा एउटै फिल्ममा देखिएका केसी बाबुछोरा पहिलो पटक एकसाथ स्कृनमा देखिन लागेका हुन् ।

जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्नेबुढा’, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, संगिता मगर र सुष्मा निरौंला फिल्मको प्रमुख अभिनयमा रहनेछन् । प्रेमकथामा रुचाइएका अनमोल र कमेडी किङ ‘माग्नेबुढा’को केमिस्ट्रीले दर्शकलाई छायांकन पहिले नै कौतुहलता जगाइसकेको छ ।

कार्यक्रममा बोल्दै अनमोलले आफुलाई सधैं राम्रो फिल्म गर्ने भोक रहेको भन्दै जेरीको कथावस्तुले आफू लोभिएको बताए । निर्माता न्यौपानेले ३ वर्षको मेहनतपछि फिल्म फ्लोरमा गएको भन्दै उत्कृष्ट बनाउन कुनै कसूर बाँकी नराख्ने बताए ।

६० दिनको सेड्यूल लिएर फ्लोरमा निस्केको अनन्या फिल्मस् ले काठमाडौं, लुक्ला र भारतको लद्धाकलाई छायांकन स्थल तय गरेको छ । यो फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् । फिल्ममा किरण थापाको कोरियोग्राफी र विर्जेश श्रेष्ठको संगीत रहनेछ ।


ताजा खबर