कात्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको फिल्मको बुधबार ललितपुरको लबिम मलमा आयोजित कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो ।
फरक शैलीमा तयार गरिएको ट्रेलर ४ मिनेट ७ सेकेन्डको छ । ट्रेलरले फरक पृष्ठभूमि र भूगोलका दुई पात्रबीचको मित्रता र त्यसमा आउने उतार-चढावको कथालाई पेश गरेको छ ।
पहाडी-मधेशी मेलमिलापको खोजी गरेको ट्रेलरमा डेटिङ एपबाट भेटिएका युवायुवती (नाजिर र सृष्टि) को कथा यसमा देखाइएको छ । नाजिर राम नामक पात्रको भूमिकामा छन् भने सृष्टिले सीता नामकी युवतीको भूमिका निभाएकी छन् ।
विशेषत कलाकार बुद्धि तामाङको ‘न्यारेटर’ गर्दै प्रस्तुत गरिएको ट्रेलरमा सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई स्थान दिइएको छ । ट्रेलरले फिल्मको कथावस्तु रोचक रहेको दर्शाउँछ ।
यो फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । अमितेष शाह सिनेमाको विशेष भूमिका छन् ।
निर्देशक गौचनले ३२ वर्षअघिको चर्चित डकुड्रामा ‘उजेली’ बनाएको दुई दशकपछि नेपाल फर्किएर ‘मिसिङः केटी हराएको सूचना’ बनाएका हुन् । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्ममा दीपेन्द्रकै निर्माण र स्क्रिप्ट लेखन छ । नकिम उद्दिन कार्यकारी निर्माता फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता तथा अमितेष शाह सहायक निर्मातामा छन् ।
‘मिसिङः केटी हराएको सूचना’मा अमर महर्जनको डीओपी छ भने दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाले गीतमा संगीत भरेका छन् ।
यो फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।