नयाँ नेपाली फिल्म ‘डोरी’को निर्माण घोषणा गरिएको छ।
जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने हरर, थ्रिलर, एक्सन र कमेडी यस फिल्मलाई निर्देशक अरुण लामाले निर्देशन गर्नेछन् ।
लामाले यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका छन् । उनको यो पहिलो फिचर फिल्म हो ।
निर्देशक लामाका अनुसार ‘डोरी’को कथा संघर्षशील युवाको वरिपरि घुम्नेछ, जसले परिवारको आर्थिक समस्या हल गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने र हाँसो, त्रास र असफलतासहितको सङ्घर्षलाई रोचक ढंगले प्रस्तुत हुने छ ।
फिल्मको मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा रहेका छन् । राज पौडेलले यसै फिल्ममार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यू गर्नेछन् । मुख्य नायिकाको छनोट अन्तिम चरणमा रहेको बताइएको छ ।
फिल्मको लेखन स्वयं निर्देशक लामाले गरेका हुन् भने स्क्रिप्टलाई थप प्रभावकारी बनाउन मनोज पण्डितले डक्टरिङ गरेका छन्। निर्माण टिममा कार्यकारी निर्माता राज थापा र सिनेमाटोग्राफर सौरभ लामाको संलग्नता छ भने एक्सन निर्देशन राजु तामाङले गर्नेछन् ।
‘डोरी’लाई सन् २०२५ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।