फ्राइडे रिलिज अन्तर्गत एकसाथ दुइटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ आजबाट भएका हुन्।
‘अग्निदहन’ सामाजिक कथा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत छन्। यसका प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन्। समाजमा बोक्सी हुँदैन भन्ने सन्देश यो फिल्मले दिन्छ।
हलले भने यो फिल्मलाई सीमित शो दिएका छन्।
त्यस्तै, विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म ‘तेल भिसा’ नेपालमा रहेका बाबुआमा र अमेरिकामा रहेका सन्तानबीचको कथा हो।
अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्।
कामकाजी दिनमा समेत उल्लेखनीय अकुपेन्सी कायम गर्न सफल भइरहेका ‘पूर्ण बहादुरको सारङ्गी’ र गत साता रिलिज भएको ‘ह्रस्व दीर्घ’ को सफलताबीच ‘तेल भिसा’ ले पर्याप्त शो पाउनेमा धेरैको शंका थियो। तर, फिल्मले मल्टीप्लेक्स चेनहरूसँग राम्रो सम्झौता गर्दै देशभर लगभग १३० शो हासिल गरेको छ।
देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र देशभरका १० हलमा गरी कूल ५० शो उपलब्ध गराएको छ। त्यसैगरी, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले ९ शो दिएको छ। काठमाडौंका एफक्युब, बिग मूभिज, सिने डी सेफ, वान सिनेमाजलगायत हलहरूले पनि उल्लेखनीय शो दिएका छन्। पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज, इटहरीलगायतका सहरहरूमा पनि फिल्मलाई राम्रो शो पाइएको छ।
पहिलो दिन ५० प्रतिशत अकुपेन्सीले राम्रो ओपनिङको संकेत
फिल्मको पहिलो दिन ५० प्रतिशत अकुपेन्सी हासिल गर्न सकेमा ‘तेल भिसा’ ले लगभग ८० लाख रुपैयाँको ओपनिङ गर्न सक्ने आँकलन गरिएको छ। शनिबार शोहरूको संख्या थपिने सम्भावना रहेको छ। काठमाडौंका केही हलहरूमा बिहीबारसम्म टिकट बुकिङ राम्रो देखिएको छ भने ‘डोलसेल’ (वाक–इन टिकट बिक्री) निर्णायक हुने देखिन्छ।
कहानी र कलाकारको आकर्षण
‘तेल भिसा’ मा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा छन्। उनले बाबु र छोराको भूमिकामा अभिनय गरेका छन्। उनलाई साथ दिएका छन् वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेतीलगायतका कलाकारहरूले। फिल्मको कथा एक नेपाली आमाले अमेरिका पुगेर भोग्नुपरेको कानुनी झमेलामा केन्द्रित छ। फिल्मको ‘कति रमाइलो’ गीतले दर्शकहरूमाझ लोकप्रियता बटुलिरहेको छ।
अब, ‘तेल भिसा’ ले आफ्नो शो र प्रारम्भिक चर्चा अकुपेन्सीमा बदल्न सक्ने हो भने यो फिल्मले नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गर्न सकिन्छ।