चलचित्र ‘बहाव’को ट्रेलर: प्रेमी, विद्रोही र परिवार भित्रको कथा

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर नेपाली चलचित्र ‘बहाव’को ट्रेलर सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्र आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ ।

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको चलचित्रको ट्रेलरमा सुरक्षालाई प्रेमी, विद्रोही र पागलपन भावमा देखाइएको छ । काम र विदेश जानुभन्दा पनि क्रान्ति गर्ने सोच सुरक्षामा देखाइएको छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको चलचित्रको ट्रेलर सुरक्षा वरपर घुमेको छ ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा अभिनेत्री सुरक्षाले चलचित्रमा जोडिनु आफैंका लागि सुखद क्षण भएको बताइन् । ‘कुनै चलचित्र आउँछन्, जान्छन्, तर यो चलचित्रका लागि मेरो बुझाई फरक छ । किनकी यस्तो चलचित्र दर्शकमाझ आउनुपर्छ’, सुरक्षाले भनिन्, ‘बहाव परिवार भित्रको विद्रोहको कथा हो । यसले नेपालको अधिकांश परिवारको कथा भन्छ ।’

लेखक तथा निर्देशक कँडेलले लकडाउनको बेलामा ‘बहाव’ लेखिएको बताए । ‘यो फिल्मसँग जोडिएका घटना, किस्सा धेरै छन् । तर जुन कथा मैले लेखें, त्यसमा निर्माता श्रीधर पौडेल सहमत हुनु मेरा लागि ठूलो उपलब्धि थियो’, उनले भने, ‘हामी सुटिङका लागि चितवन जाने तयारी गरिरहँदा निर्माता श्रीधर पौडेलको बोली अस्वस्थताका कारण रोकियो । त्यस्तो तनावको अवस्थामा पनि उहाँले मलाई पूर्ण रुपमा विश्वास गरेर सबै जिम्मेवारी दिनुभयो ।’

निर्माता श्रीधर पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफू लगानी गर्न राजी भएको खुलाए । ‘उसको स्क्रिप्ट मैले पढेपछि कथा फरक लाग्यो । किनकी मैले यसअघि फरक कथाको गोपी पनि बनाएको थिएँ । त्यहीकारण बहावको कथाले मलाई छोयो’, उनले भने । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गरेका थिए ।

अर्का अभिनेता पवन श्रेष्ठले आफ्ना लागि ‘बहाव’ भए पनि व्यावसायिक कलाकारसँग काम गर्न पाउँदा खुशी लागेको बताए । त्यस्तै सुर्य शर्मा भट्टले आफू युनिभर्सिटीको प्रोफेसर भएको खुलाउँदै पहिलोपटक अभिनय गर्न पाउँदा उत्साहित भएको बताए ।

चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको चलचित्रमा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

चलचित्रमा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना चलचित्र स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।


ताजा खबर