गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘तेल भिसा’ले वर्ड अफ माउथको प्रभावका कारण दर्शक तान्न सफल देखिएको छ। सुरुवाती व्यापारमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको यो फिल्मले सोमबारदेखि अकुपेन्सी दरमा सुधार देखाउँदै व्यापारिक रफ्तार लिँदैछ।
काठमाडौंको एफक्युब, बिग मुभिज, वान सिनेमाज, सिके सिनेमाज, क्यूएफएक्सका विभिन्न शाखाहरू (भाटभटेनी, लबिम), पोखराको मिडटाउन, नेपालगञ्जको सिनेरोयलजस्ता हलहरूमा दिउँसोदेखि साँझसम्म दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ।
प्रदर्शनको पहिलो दिन फिल्मको अकुपेन्सी कमजोर रहेको भए पनि शनिबार र सोमबारदेखि बिस्तारै सुधार आएको वितरक करण श्रेष्ठले बताएका छन्। दर्शकको सकारात्मक प्रतिक्रिया र फिल्मको कथा तथा अभिनयको तारिफले हलमा दर्शक तान्न मद्दत पुर्याइरहेको छ। बुधबार र बिहीबारको अकुपेन्सी दरले व्यापार अझै सुदृढ हुने अपेक्षा गरिएको छ।
फिल्मका मुख्य अभिनेता विपिन कार्कीले बाबु र छोराको दोहोरो भूमिकामा प्रभावशाली प्रस्तुति दिएका छन्। उनलाई छोराको तुलनामा बुबाको भूमिकामा बढी रुचाइएको प्रतिक्रिया प्राप्त भएको छ। अभिनेत्री पूजा चन्द र ऋचा घिमिरेको अभिनयले दर्शकको वाहवाही बटुलिरहेको छ। पूजाले आमाको भूमिकामा दर्शकलाई भावनात्मक रूपमा बाँध्न सफल भएकी छन् भने ऋचाले अमेरिका गएकी नेपाली आमाको कानुनी झमेलाको भूमिका दमदार ढंगले निर्वाह गरेकी छन्।
फिल्मको निर्माण टोलीले दर्शक प्रतिक्रिया बुझ्न दैनिकजसो हल भ्रमण गरिरहेको छ। शीर्ष अभिनेता विपिन कार्कीले प्रदर्शन सुरु भएको दिनदेखि नै हल पुगेर दर्शकसँग संवाद गरिरहेका छन्। अर्की अभिनेत्री वर्षा राउतले पारिवारिक समस्याका कारण दर्शक प्रतिक्रिया लिनका लागि सीमित समय मात्र दिन सकेकी छिन्।
फिल्मले सुरुवाती कमजोर व्यापारका कारण केही शो गुमाए पनि वर्ड अफ माउथको प्रभावले हालका शोहरूमा अकुपेन्सी बढिरहेको छ। अर्को साता ठूलो नेपाली वा विदेशी फिल्म प्रदर्शनमा नरहेको हुँदा ‘तेल भिसा’का लागि व्यापारिक रफ्तार बढाउन अनुकूल समय मानिएको छ।
शंकर घिमिरेले निर्देशन र लेखन गरेको यो फिल्म वेलडन क्रियसनको ब्यानरमा निर्माण गरिएको हो। फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, र आशिष अविरल, कल्याण सिंह तथा कृष्ण भारद्धाजको संगीत छ।
कलाकारको अभिनय, कथाका कारण फिल्म ‘तेल भिसा’लाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिल्दै गएको छ। फिल्मले आगामी दिनहरूमा थप राम्रो व्यापार गर्ने संकेत देखाइरहेको छ।