विजय बरालले सके ‘लाज शरणम्’को छायांकन, डेढ महिनाका लागि विश्राम लिने तयारी

ऐतिहासिक सफलता हात पारेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य अभिनेता विजय बरालले नयाँ फिल्म ‘लाज शरणम्’ मा आफ्नो भागको छायांकन पूरा गरेका छन्। बरालले ‘पूर्ण बहादुरको सारङ्गी’ पछि काम गरेको यो पहिलो फिल्म हो।

आगामी फागुन १४ गते (महाशिवरात्रि) प्रदर्शन हुने घोषणा भइसकेको ‘लाज शरणम्’ को छायांकन दशैंअघि डोल्पामा सुरु भएको थियो। माइतीघरस्थित खाद्य गोदाममा सोमबार र मंगलबार उनको छायांकन सम्पन्न भएको हो। फिल्ममा उनले निभाएको भूमिकाबारे निर्माण टिमले कुनै खुलासा गरेको छैन।

‘लाज शरणम्’ काठमाडौंका विभिन्न स्थानमा पनि छायांकन भइरहेको छ। अब निर्माण टोलीले ५ दिनका लागि मुस्ताङ प्रस्थान गर्ने तयारी गरेको छ। यही मितिमा अभिनेता पल शाहको फिल्म ‘मायावी’ पनि प्रदर्शनमा आउँदैछ।

कुमार कट्टेल (जिग्री) को निर्देशनमा बनेको यो फिल्ममा विजय बरालसँगै सीताराम कट्टेल, मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, माला लिम्बू, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, बबिन राई, कमलमणी नेपाल लगायत कलाकारहरूको अभिनय छ। फिल्म नवीन श्रेष्ठले निर्माण गरेका हुन् भने सह-निर्मातामा राम नरेश शाह छन्।

‘लाज शरणम्’ को छायांकन सकिएसँगै अभिनेता बरालले केही समय फिल्म नगर्ने पक्षमा रहेका छन् । उनले करिब डेढ महिना विश्राम लिँदैछन्। यस अवधिमा उनी नाटक ‘हरि हजुरबा’ मा व्यस्त हुनेछन्। बुधबारबाट उनले नाटकको तयारी सुरु गरेका छन्।

बरालले ‘पूर्ण बहादुरको सारङ्गी’ को जादुई सफलतापछि सहायक भूमिकाका प्रस्तावहरू अस्वीकार गर्न थालेको चर्चा छ। यसबारे पुष्टि नभए पनि, अब उनी भविष्यमा कस्ता फिल्ममा काम गर्ने भन्नेबारे योजना बनाउन केन्द्रित हुने जनाइएको छ। ‘पूर्ण बहादुरको सारङ्गी’ अघि सहायक भूमिकामा उनको राम्रो माग थियो, तर अहिले प्रमुख भूमिकामा उनको छवि बलियो बनेको देखिन्छ।


ताजा खबर