२ हप्तामा ‘ह्रस्व दीर्घ’को ८ करोड ५२ लाख ग्रस

अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ अहिले तेस्रो हप्तामा प्रदर्शनरत छ । फिल्मले पहिलो हप्ता ५ करोड ५४ लाख ग्रसकलेक्सन गरेको थियो । दोस्रो हप्तामा यो फिल्मले लगभग ३ करोड कलेक्सन गरेको दाबी निर्माण टिमको छ ।

निर्मात्री तथा अभिनेत्री ढुंगानाले शनिबार बिहान फेसबुकमार्फत् सार्वजनिक गरेको कलेक्सन रिपोर्टमा फिल्मको १४ दिनको कमाई ८ करोड ५२ लाख रहेको उल्लेख छ । अर्थात् दोस्रो हप्तामा फिल्मले २ करोड ९८ लाख कमाएको छ । ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको तेस्रो हप्ता देशभर लगभग ५० शो पाएको छ । यद्यपि, नेपालभर नै राम्रो व्यापार गरेपनि अन्य सहरमा भन्दा तुलनात्मक रुपमा नेपालगञ्ज र दाङमा फिल्मको व्यापार अझै राम्रो छ ।

फिल्मले नेपालमा मात्रै नभई विदेशमा पनि राम्रो व्यापार गरिरहेको यो फिल्मको विदेश वितरक सेभेन सिज इन्टरटेमेन्टले जनाएको छ । अहिले फिल्म अष्ट्रेलिया, न्युजल्याण्ड, जापान, दक्षिण कोरिया, जापान र मध्य पूर्वका धेरै देशमा प्रदर्शन भैरहेको छ । विस्तारै अमेरिका, क्यानडा, युरोपका विभिन्न देशमा रिलिजको तयारी भैरहेको निर्मात्री नीता ढुंगाना बताउँछिन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्म बलिउडका छायाँकार कवीरलालले खिचेका हुन् ।

फिल्ममा चन्द्र पन्तको निर्देशन छ । अभिनेत्री निता ढुंगानाको लगानी रहेको यो फिल्म तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।


ताजा खबर