प्रकाश सपूतको डेब्यु निर्देशकिय सिनेमा ‘बसन्त’को छायांकन सम्पन्न

गायक तथा अभिनेता प्रकाश सपूतले निर्देशनमा हात हालेको पहिलो सिनेमा ‘बसन्त’ को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमका अनुसार ३८ दिनको मेहनतपछि बुधबार सिनेमाको अन्तिम सट काठमाडौंमा खिची इन्डक्ल्याप गरिएको हो।

सिनेमा आगामी चैत्र २२ गते चैते दशैं को अवसरमा प्रदर्शनमा आउने तयारीमा छ। गायक, अभिनेता तथा निर्देशक प्रकाश सपूतले सिनेमा निर्माणमा आफ्नो टिमले निकै मिहिनेत गरेको उल्लेख गर्दै सिनेमाको परिणामले आफूले सोचेको र खोजेको जस्तो नतिजा दिने विश्वास व्यक्त गरेका छन्।

प्रकाश सपूतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँहरूमा सिनेमाको छायांकन गरिएको हो।

सिनेमामा प्रकाश सपूतसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन्।

सिनेमा एक विपन्न विश्वकर्मा समुदायका छोराको लेखक बन्ने सपना र आफ्नो लक्ष्य प्राप्त गर्न गर्ने संघर्षको कथा हो। यो कथा, पटकथा, र संगीत समेत प्रकाश सपूतले नै तयार पारेका छन्।

‘गलबन्दी प्रोडक्सन’ को प्रस्तुति रहेको यो सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई, र नाना थकाली छन्। सिनेमाका सिनेमाटोग्राफर सुसन प्रजापति हुन्।

‘बसन्त’ सामाजिक मूल्य र संघर्षको कथा बुनिएको सिनेमा हो, जसले नेपाली फिल्म क्षेत्रलाई नयाँ आयाम दिने विश्वास लिइएको छ।


ताजा खबर

No comments to show.